अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता,माघ २१ गते।
कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
गण्डकी प्रदेश सरकारले सो पालिकाको गाउँपालिकाको सिफारिसमा केन्द्र हालको मादी–३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट पक्षले गाउँपालिकामा तालाबन्दी गरेको हो।
राजनीतिक सहमति र स्थानीय स्वायत्त शासन ऐनविपरीत पालिकाको केन्द्र सार्ने निर्णय गरिएकाले आन्दोलनमा उत्रिनुपरेको स्थानीय काँग्रेस नेता एवं स्थानीयवासीको तर्फबाट गठन गरिएको सङ्घर्ष समितिका संयोजक नारायण गुरुङले बताउनुभयो । गाउँसभाले केन्द्रका लागि चार विकल्प सिफारिस गर्ने सर्वसम्मत निर्णय गरे पनि गाउँपालिकाले एकलौटीरूपमा बेतेनीमा केन्द्र बनाउन सिफारिस गरेको गुरुङको दाबी छ । असन्तुष्ट पक्षको माग पालिकाको केन्द्र याङ्जाकोटमा नै रहनुपर्ने र सिफारिस प्रक्रियाप्रतिसमेत आपत्ति जनाएको छ ।