अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता,माघ २२ गते।
प्रचण्ड-माधव समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
नेकपा प्रचण्ड–माधव समूहले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आज आमहड्ताल गर्ने घोषणा गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर प्रचण्ड नेपाल समूहले यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको हो।

प्रचण्ड–माधवको समूहले आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, मिडिया, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुनु प्रचण्ड–माधव समूहले जनाएको छ ।
आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
गृहले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध गर्नेजस्ता कार्य नगर्न समेत आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।
आमहड्तालको आह्वानमा सडकमा उत्रिएका प्रचण्ड-नेपाल समूहका नेतृ अष्टलक्ष्मी शाक्य लगायतलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।

उनका अनुसार कलंकीबाट शाक्यसहित हितमान शाक्य, अमृता थापालाई कलंकीबाट पक्राउ गरिएको छ । यसैगरी चाबहिलबाट कृष्ण केसी, बागबजारबाट युवा नेता रमेश मल्ललगायतका नेताहरूलाई गिरफ्तार गरेको छ ।