अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १० गते।
बलिउडका दिग्गज संगीत निर्देशक श्रवण राठोडको कोरोना संक्रमनबाट मृत्यु भएको छ।
नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो ।
विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा श्रवणको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए । त्यसमा उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो । त्यसपछि उनीहरुले बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।
यद्यपि उनीहरुलाई आशिकी फिल्मका हिट गीतले संगीतको शिखरमा पुर्याएको थियो ।
टी–सिरिज म्युजिक कम्पनीका मालिक गुलशन कुमारको हत्या प्रकरणमा अभियुक्त बनाइएपछि नदिम सन् २००० देखि नै निर्वासनमा रहँदै आएका छन् ।
फिल्मी जगतका कलाकारहरुले श्रवण राठोरको निधनमा शोक व्यक्त गरेका छन् ।