बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २३ गते।

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको आज निधन भएको छ ।

उनको आज बिहान पौने ८ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका ९८ वर्षीय दिलिपकुमारले मुम्बईस्थित खार हिन्दुजा अस्पतालमा अन्तिम सास लिए। उनलाई पछिल्लो एक महिनामा दुई पटक अस्पताल भर्ना गराइएको थियो।

दिलिपकुमारको जन्म सन् १९२२ को डिसेम्बर ११ मा तत्कालिन ब्रिटिश इण्डियाको पेशावरमा (हाल पाकिस्तान) भएको थियो। उनको खास नाम मोहम्मद युसुफ खान हो।

उनले २२ वर्षको उमेरमै पहिलो फिल्म खेल्ने अवसर पाए। सन् १९४४ मा बनेको फिल्म ज्वारभाटामा उनले अभिनयको मौका पाए। तर, यसबाट उनी त्यति चर्चा बटुल्न सकेनन्।

दिलिपकुमारले पाँच दशकको फिल्मी यात्राका क्रममा करिब ६० फिल्ममा अभिनय गरे। उनका चर्चित फिल्महरुमा शहिद, मेला, नदियाके पार, बाबुल, फुटपाथ, देवदास, नया दौर, मुगल-ए-आजम, गंगा-जमुना, राम और श्याम, करमा रहेका छन्। उनको अन्तिम फिल्म किला हो। जो सन् १९९८ मा रिलिज भएको थियो।

दिलिपकुमार सन् २००० देखि २००६ सम्म राज्यसभा सांसद पनि बने।

उनले सन् १९६६ मा अभिनेत्री सायरा बानोसँग विवाह गरेका थिए। उनले आसमा साहिबासँग पनि विवाह गरेका थिए। तर, साहिबासँग उनको सन् १९८३ मा सम्बन्ध बिच्छेद भएको थियो।

दिलिपकुमारको निधनमा बलिउड क्षेत्र नै शोकमा डुबेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *