अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ २ गते।
प्रदेश नं २ को प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
प्रदेश नम्बर २ को राजधानी र नामबारे आज प्रदेश सभा बैठकमा छलफल हुने भएको छ।
सभामुख सरोजकुमार यादवको नेतृत्वमा नाम र राजधानीबारे अध्ययन गर्न समिति गठन गरिएको थियो। नाम र राजधानीमा प्रदेश सभा सदस्य सहमत नभएकोले अब मतदान हुने देखिएको छ।
प्रदेश २ को नाम मधेस, जानकी, भोजपुरा, मिथिला, मध्यमधेसलगायत चर्चामा छ भने राजधानी जनकपुर वा वीरगञ्जमध्ये एक हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताइरहेका छन्।
नाम र राजधानी तोक्न प्रदेश सभामा दुई तिहाइ मत आवश्यक पर्छ।
राजधानी जनकपुरमा रहनुपर्नेमा धेरै प्रदेश सभा सदस्य सहमत भए पनि नाममा भने सहमतिनजिक पुगेका छैनन्।
जसपा र नेकपा माओवादी केन्द्र प्रदेशको नाम मधेस राख्नुपर्नेमा छ। यो प्रस्तावलाई लोसपाले पनि समर्थन गरेको छ।
यी दलका सांसद ६३ जना मात्रै छन् तर दुई तिहाइ पुर्याउन ७० सांसद चाहिन्छ। प्रदेश २ मा १०७ जना सांसद छन्।
एमालेले र नेकपा एकीकृत समाजवादीले प्रदेशको नाम जानकी राख्नुपर्ने बताइरहेका छन्। यी दुई दलबाट २१ जना प्रदेश सभा सदस्य छन्।
नेपाली कांग्रेसले भने प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताएको छ। यहाँ कांग्रेसका १९ सांसद छन्।
एक दलले राखेको प्रस्तावमा अर्कोले समर्थन नगर्दा दुई तिहाइ पुर्याउन कठिन छ।