अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २० गते।
आजबाट नेपालमा पुनः नयाँ मौसमी प्रणाली भित्रिने भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीका अनुसार सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।
आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।
मंगलबार रातिबाट नेपाल भित्रिने यो प्रणालीको प्रभाव देशभर पर्ने छ । विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
मञ्जु वासीले भनिन्, ‘यसपालिको प्रणाली विक (कमजोर) छ, त्यसैले काठमाडौं वरपर नै हिउँ पर्छ कि पर्दैन भन्न सकिंदैन तर पानी भने पर्छ ।’ पानी पनि अघिल्लो पटकभन्दा कम पर्ने उनको अनुमान छ ।