अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पुस २९ गते।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाइएको छ।
स्थानीय प्रशासनले जारी गरेको आदेश बुधबार राति १२ बजेदेखि लागू भएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको १२ बुँदे आदेश लागू भएको हो।


आदेशमा होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ।
आदेशअनुसार घरबाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ।
शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ।
यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने गरी उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ।
सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ।