श्रीस्वस्थानी व्रत आजदेखि सुरु गरिँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ३ गते।  

श्रीस्वस्थानी व्रत आजदेखि सुरु गरिँदै छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ ।

सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो।

सो अवधिमा व्रत गर्नाले सुखशान्ति, समृद्धि मिल्नुका साथै सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ। व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघमाहात्म्यमा उल्लेख छ।

एक महीनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

सय रोटी व्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको महात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *