अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ३० गते।
आज साउदीका राजकुमार एवं परराष्ट्रमन्त्री फैजल बिन फरहान बिन साउद नेपाल आउदैछन् ।
उनी नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । साउदीका परराष्ट्रमन्त्री साउदले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्ला बेग्लै भेटवार्ता गर्ने र अन्तिममा समकक्षी परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खड्काले आफ्ना समकक्षीका लागि चैत १ गते बैठकका साथ उनको प्रतिनिधिमण्डलको सम्मानका लागि दिवाभोजको आयोजनासमेत गर्ने जनाइएको छ ।
उनी श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार (आज) अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रने जनाइएको छ । उनलाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
उनको भ्रमणका क्रममा नेपालले एक सम्झौतामा हस्ताक्षर गर्ने र दुई नेपालीलाई आम माफी दिन आग्रह गरिने जनाइएको छ ।