अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज १३ गते।
बडा दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ ।
चौथो दिनमा विधिपूर्वक स्थापित देवताहरूको नित्य पूजा गरी नवदुर्गाको प्रतिमामा कुष्माण्डा नाम गरेकी देवीको पूजन गरिन्छ। कुष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।
घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदूर्गा पनि भन्ने गरिन्छ ।
नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।