अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक ८ गते।
आज कात्तिक ८ गते, कात्तिक कृष्ण औँसी । आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) अर्थात सूर्यग्रहण लाग्दैछ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार सूर्यग्रहण अपराह्न ४ः ५२ बजेबाट लाग्दै छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५: २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्।
नेपालबाट करिब ३२ मिनेटमात्र ग्रहण देखिने उनले बताए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्नेछ ।
ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।