दिल्लीमा लगाईएको कोभिड सम्बन्धित सबै प्रतिबन्ध हटाइयो

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १४ गते। 

दिल्लीमा लगाईएको कोभिड सम्बन्धित सबै प्रतिबन्ध हटाइएको छ ।

दिल्ली सरकारले शुक्रबार कोभिड–१९ सँग सम्बन्धित सबै नियन्त्रणका लागि अपनाइएका प्रायःप्रतिबन्धहरूको अन्त्य गर्ने घोषणा गरेको छ ।

कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि दिल्ली सरकारले उक्त निर्णय लिएको हो ।

मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायमलगायतका प्रायः सबै प्रतिबन्धलाई हटाइएको बताएका छन् ।

उनले भनेका छन्, “प्रतिबन्धले नागरिकहरूले रोजगारी गुमाउनु परेको र यसका कारण कठिन दैनिकीको सामना गरिरहेका छन् । स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।’’ अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयहरूले विद्यालयमा भौतिकरूपमा उपस्थित भएर अध्ययन गर्नसक्ने उनले बताए ।

मास्क नलगाएकोमा जरिवाना गर्ने निर्णयलाई पनि बिस्तारै हटाउने तयारी गरेको बताइएको छ । मुख्यमन्त्री केजरीवालले भने, “डीडीएमएले मास्क नलगाउँनेलाई गरिने जरिवानालाई पनि घटाएर ५०० रुपैयाँ मा सिमित गरेको छ ।”

उनले थप भने, “सबैले कोभिड–१९ वृद्धि नियन्त्रणका लागि स्वतस्फूर्त उचित व्यवहार लाई निरन्तरता दिनुपर्ने छ । सरकारले अवस्थाबारे कडा निगरानी राख्नेछ ।”

दिल्लीमा रातिको निषेधाज्ञा सोमबारबाट अन्त्य हुने बताइएको छ । राती घर जाने समय बितेपछि पसल, रेस्टुराँ र व्यापारिक प्रतिष्ठानहरू राती अबेरसम्म खुला रहन सक्नेछन् ।

कोभिडजन्य सङ्क्रमणमा कमीपछि भारतको संघीय सरकारले राज्यहरूलाई सामाजिक, खेलकुद, मनोरञ्जन, शैक्षिक र धार्मिक कार्यक्रमका लागि कोभिड–१९ नियन्त्रणसम्बन्धी नियमलाई अन्त्य गर्ने विचार गर्न आग्रह गरेको थियो । साथै उनीहरूको क्षेत्रमा स्थिति अनुसार रातको निषेधाज्ञा घन्टा पनि विचार गर्न आग्रह गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *