अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ३० गते।
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ ।
आज दिउँसो १ बजे जानकी मन्दिरबाट गाजागाजा सहित पुगेर गंगासागरमा भव्य रुपमा राम र जानकीको मटकोर गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।
बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ ।
मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि गर्ने गरिन्छ । त्यहाँ उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् ।
मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।