अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २५ गते।
देशभर अझैं गर्मी बढ्ने संकेत देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि तापक्रम बढिरहेको जनाएको छ । तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।
हाल तराईमा डेढ सातादेखि चलिरहेको लु (तातो हावा) पश्चिम तराईसम्म फैलिएको छ। लु अझै पाँच दिनसम्म लम्बिने आकलन गरिएको छ।
हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।
तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको छ ।
महाशाखाले निकालेको बुलेटिनमा तातो हावा तथा लुबाट बच्न अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिइएको छ ।