अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ४ गते।
१६ असारदेखि ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणमा रोक लगाईने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको गुनासो गरेको छ।
१५ असारसम्म माग पुरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।
गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो । तर, उद्योगीहरुले सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरु स्वतः वैध हुने दाबी गरेका छन् ।
निर्णय कार्यान्वयन गर्न दबाब दिने उद्देश्यसहित व्यवसायीले आन्दोलनको तयारी गरेका हुन् ।