अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष,समाचारदाता,असोज १ गते।
प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो । शुक्रबार व्रत बसेकी व्रतालु महिलाहरु साँझ चन्द्रमा देखिने वितिकै आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमा लाई अघ्र्य दिएर यो पर्व मनाउँछन् । यस पर्वको लागि व्रत बस्ने व्रतालु महिला दिनभर निराहार बस्छन् ।
साँझपख चन्द्रमा उदय हुनुअगाडि दिनमा पवित्रताका साथ बनाइएका पूजा र अन्य सामग्री आँगमा लिपपोत गरि माटोको भाँडामा सजाएर राखिन्छ । चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्दछिन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्दछिन् ।
त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गर्दछन् । आजै भगवान श्री गणेशको पुजाआराधना गरि गणेश चतुर्थी समेत मनाइदै छ । चौरचनका दिन ब्रतालुहरुले निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफूल तथा खीर र पुरी अर्पण गर्ने गर्छन् । चन्द्रमाको पुजा हुने भएकाले यो पर्वमा घरको आँगन र छतमा पुजा हुन्छ ।