अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २७ गते।
लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत सुरु भएको छ।
नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनहरूको सहभागिता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो। फागुन कृष्णपक्षको औंसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो।
आजराति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु भोलि बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन्।
परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गीर्जास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै ध्रुवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णीमाको दिन जनकपुर फर्कने छ।
परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन्। सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताँउछन्।