अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन २३ गते।
मधुश्रावणी पर्वको आज अन्तिम दिन रहेको छ।
साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने यो पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्दछ । १४ दिनसम्म मनाईने मधुश्रावणी खास गरी मिथिलाका नवविवाहिता महिलाका लागि विशेष पर्वको रुपमा रहेको छ ।
मधुश्रावणी पर्व टेमी विधिसँगै आज सम्पन्न गरिने छ।
यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ। सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढीवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, साँस्कृतिक मान्यताको प्रतीकको रूपमा मानिन्छ।
वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रासित हुनुले नाग/नागिन र प्रकृतिको प्रतीक भएकाले यो पर्वमा मुख्यतया शिव, पार्वती तथा नाग/नागिनको पूजा गरिन्छ।
साउन महिनाको मौना पञ्चमीदेखि शुरु भएको यो पर्व साउन तृतीया तिथिका दिन समापन हुन्छ। पर्वमा प्रत्येक दिन गौरी तथा नाग/नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथाहरू नवविवाहिता महिलालाई सुनाइने गरिन्छ।