अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,भदौ १० गते।
आज देशभर ’श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदै छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन विशेष गरी महिलाहरू ‘व्रत’बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।
शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिअाएको छ । अाज उनै भगवान श्री कृष्णको जन्मदिन ।
संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।
त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलिला’ को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू-लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा अाफ्नो व्यक्तित्वका कारण सबैलार्इ आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।
गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया-प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।
यस पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।