अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,मंसिर १७ गते
सप्ताहव्यापी विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ ।
फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।
त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसंग फूल टिप्न आएकी जानकीसंग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।
सोहि अनुसार विवाहपञ्चमी महोत्सवमा दोश्रो दिन फूलबारी लिलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने गरिन्छ ।
तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव हुने छ ।
पाँचौ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन ममंसिर २२ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।