अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत १९ गते।
आईपीएलमा (IPL) गएराति भएको खेलमा दिल्लीले चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो ।
दिल्लीले दिएको १९२ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।
खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले चार चौका र ३ छक्का हिर्काए ।
चेन्नईका लागि अजिंक्या रहाने सर्वाधिक ४५ रन बनाए । त्यस्तै डेरल मिचेलले ३४ तथा रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए । दिल्लीका लागि खलिल अहमदले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए । त्यस्तै, मुकेश कुमारले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे ।
दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।
अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुआत पाएको दिल्लीका लागि यी दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
पन्तको अर्धशतकको सहयोगमा दिल्ली मध्यम योगफलसम्म पुग्यो ।
आइपीएल अन्तर्गत आज राति पौने ८ बजे मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुने छन् ।