अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, आषाढ १६ गते
आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) का लागि विशेष चेतावनी तथा परामर्श जारी गर्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
बुधबार दिउँसो र राति देशभर मौसम पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ ।
बिहीबार दिउँसो र राति देशभर पूर्णतया बदली रहने महाशाखाको अनुमान छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहने महाशाखाले जनाएको छ ।
नदीनालाहरूमा जलसतह बढ्न सक्ने र यातायात सेवा समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।