अनलाईन न्युजपाटी सुनसरी,समाचारदाता, साउन ११ गते
सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु र २२ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
दुईपक्षबिचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारीको आदेशानुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन, जुलुस-प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
आइतबार राति बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद हुँदा झडप भएको थियो।