अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन १२ गते
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने नेपाल चिकित्सक संघले घोषणा गरेको छ ।
प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण र तोडफोड भएको थियो। सो घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला पर्साका प्रहरी प्रमुखद्वारा संघका केन्द्रीय कार्यकारिणी सदस्य तथा नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको संघको आरोप छ।
संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।