अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असार २९ गते
महोत्तरीको जलेश्वर डुबानमा परेको छ । पुरै जलमग्न भएकाले उद्वार कार्यमा कठिनाइ भएको छ । टेलिफोन, सडक अवरुद्व हुँदा स्थानीय त्रसित भएका छन् । तत्काल ढुंगा भए उद्वार गर्न सजिलो हुने स्थानीयले बताएका छन् । शुक्रबार रातिदेखि नै एकडारा गाउँपालिका–६ कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवाराको बीचमा रहेको तटबन्ध भत्किएर रातो नदी गाउँ पस्न थालेको थियो । लगातार वर्षा भइरहेपछि बाढी पनि बढ्दै गयो । आइतबार बिहान सदरमुकाम जलेश्वर बजारमै पुग्यो । जलेश्वर नगरपालिका कार्यालय भएको क्षेत्रमा तीन फिटजति पानी जमेको छ ।

नदीमा पानीको बहाव कम नभए बाढीले पिपरा, बल्वा, महोत्तरी, जलेश्वर, मटिहानी र एकडारा क्षेत्रमा समेत डुबान गर्ने खतरा छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले रानी रतवारामा भत्किएको तटबन्ध निर्माणका लागि सेनाको टोली खटिइसकेको बताए । जलेश्वरका मेयर रामशंकर मिश्रले प्रभावित क्षेत्रको अवलोकन गरेर सतर्कता अपनाइने बताए ।
त्यस्तै, बिग्ही नदीमा आएको बाढीले मटिहानी नगरपालिकाको सिमरदही, धिरापुर, बहुअर्वा र मटिहानी बजार क्षेत्रमा डुबान गरेको छ । नगरपालिकाले बस्ती नै डुबान हुन सक्ने भन्दै सुरक्षित स्थानतर्फ जान स्थानीयलाई आग्रह गरेको छ । जंघा नदीमा पनि पानीको बहाव बढ्न थालेको छ, यसले औरही नगरपालिकाका विभिन्न वडाहरू डुबानमा पर्ने खतरा बढेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले उद्धार तथा रोकथामका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।