अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन १० गते
प्रहरीले लागूपदार्थजन्य अफिमसहित चार जनालाई दाङबाट पक्राउ गरेको छ ।
दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।
रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय लालमन घर्ती मगर, सोही ठाउँका ३२ वर्षीय हर्कबहादुर घर्ती मगर र २२ वर्षीय लालसिंह विक पक्राउ परेका हुन्।
पक्राउ परेका चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले उनीहरूको साथबाट ६ किलो ९६७ ग्राम अफिम बरामद गरिएको जानकारी दिए।
उनीहरूलाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरि अनुसन्धान सुरू गरिएको उनले बताए।