अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ७ गते
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको छ ।