अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २० गते।
हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छ।
लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते हुनेमा सिमकोट–२, ठेहेका जिप चालक सम्राट भण्डारी, प्युठान स्थायी घर भई सिमकोट–६ बस्दै आएका अजय बस्नेत, सिमकोट–८ खोल्सीकी कल्पना सिंह, सोही ठाउँका एक वर्षीय बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजार बस्दै आएका बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
जिप सडकभन्दा करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । डिएसपी सुवेदीका अनुसार सदरमुकामबाट दुर्घटनास्थलसम्म पुग्न पैदल पौने दुई घन्टा लाग्छ । राति ११ बजे जीप दुर्घटना भएको जानकारी पाएलगत्तै सदरमुकामबाट जिप र ट्याक्टरमा उद्धार टोली पठाइएको थियो । राति १२ बजे घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको थियो । उद्धारकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए ।