अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २१ गते।
मिस नेपाल २०२०को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन । उनले प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई पछाडि पार्दै यो टाइटल हात पारेकी हुन् ।
देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।
किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात पारेकी हुन् । प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ ? भनेर प्रश्न सोधिएको थियो ।
छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि यस वर्ष सुप्रिया श्रेष्ठले जितेकी छिन् । मिस नेपाल इन्टरनेसनलमा चाहिँ सन्ध्या शर्मा विजयी भएकी छिन् ।