अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १७ गते।
आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौं, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका बिषयमा कुरा जति गरेपनि अपुग नै हुन्छ ।
ढाका टोपी दिवस भनेपनि नेपाली पुस्ताले ढाका टोपीसंगै भादगाउँले टोपीको पनि महत्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।