अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २८ गते।
४२ लाख बढी अवैध नगदसहित दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखाको बैतेश्वर–६ घर भई हाल भक्तपुरको बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय बिनोद तामाङ छन् ।
महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख बरामद भएको हो।
साथै उनको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको प्रहरीको भनाइ छ।
घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ।