अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख १७ गते।
महोत्तरी जिल्ला अदालतले, गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछयानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा सात जनालाई आज जेल चलान गरेको छ ।
पक्राउ परेका सातजनामध्ये एक वृद्धालाई दुई लाख धरौटीमा छोड्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ ।
अदालतले पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्धा तारादेवीलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको तथा थप अभियुक्तहरू उनकै जेठा छोरा कैलाश झा, कान्छा छोरा बब्लु भन्ने विकास झालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।
यता सोही मुद्दामा रगत भेटिएको र अन्य विभिन्न सबुत प्रमाणको आधारमा प्रहरीले पक्राउ गरेका थप चारजना सोही ठाउँ निवासी ५२ वर्षीय रामबाबु यादव, उनका जेठा छोरा २६ वर्षीय कैलाश झा र कान्छा छोरा २४ वर्षीय राजेन्द्र झा तथा भारत बिहार घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका– ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।