अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,असार १३ गते।
थप खुकुलो बनाएर पर्सामा असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा असार २० गते मध्यराति १२ बजेसम्म कायम राख्ने जानकारी दिएका छन् ।
पसल, व्यवसाय दिनभर नै खोल्न पाउने व्यवस्था गरिएको छ । पसल, व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्नुपर्ने प्रशासनले बताएको आएको छ ।
‘पसल, व्यवसाय दिनभरि नै खोल्ने भन्ने निर्णय भयो, त्यसै अनुसार निषेधाज्ञा जारी गरेका छौं,’ उनले भने, ‘जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र भीडभाड नगर्न भनेका छौं ।’
असार ७ गतेदेखि खाद्यवस्तु औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित सञ्चालन गर्ने र बाँकी अन्य सबै पसलहरु बिहान १० बजेदेखि ५ बजेसम्म खोल्ने गरिएको थियो । बजारमा पसल व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्डको खासै पालना भइरहेको छैन ।
वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालन गर्ने वातवरण बनाइदिन माग गर्दै ज्ञापनपत्र बुझाए पनि उनीहरुको मागको विषयमा केही निर्णय गरिएको छैन ।