नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १६ गते।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो ।

एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने औपचारिक निर्णय गरेको हो ।

पर्सि १८ गते एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ । २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए त्यही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् ।

नेकपा एकतापछि एमालेमा फर्किएका माओवादी केन्द्रका नेताहरूसमेत नेकपामा हुँदा जुन जिम्मेवारीमा थिए, त्यही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष केपी शर्मा ओली सहमत हुनुभएको हो ।

गएको फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र उठिरहेको थियो ।

ओलीले यसरी एकपक्षीय ढंगले केन्द्रीय कमिटी भंग गरेर नेताहरुको जिम्मेवारी खोस्नुका साथै विधान समेत संशोधन गरेपछि माधव नेपाल समूहले चर्को असन्तुष्टि जनाउदै आएको थियो । यहीँ विवादले पार्टी नै विभाजन हुनसक्ने खतरा कायमै रहेका बेला अध्यक्ष ओली पार्टी एकता अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन सहमत भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *