लागुऔषध गाँजासहित दुईजना पर्साबाट पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,असार १६ गते।

लागुऔषध गाँजासहित पर्सामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् ।

मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

मंगलबार बिहान १ बजे पटेर्वासुगौली-२ मकवानी चौरीमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले नियन्त्रणमा लिएर सोधपुछ तथा चेकजाँच गरेको थियो ।

उनीहरुले पिठ्यूँमा बोकी ल्याएको ३ वटा बोराभित्र लागु औषध गाँजा ४० किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

गाजासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *