अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १९ गते।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको छ । 

पहिराले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४० ट्रक  र ना ७ ख ३२० नम्बरको कन्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । 

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने  १८ वर्षीय वीरबल चेपाङ  र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ ।  सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिङबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *