अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार ३१ गते।
कटुवा पेस्तोल र लागुपदार्थसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर–१६ हुलास चौक दक्षिणगेट नजिकदेखि पप्पुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपीकृष्ण ठाकुरका अनुसार पक्राउ परेका पटेलकाे साथबाट एकथान पेस्तोल, लागु औषध लुपिजेसिक २ सय ९५ एम्फुल, एभिल २ सय ९२ एम्फुल, एकथान चक्कु र दुईवटा मोबाइल फेला परेको छ।
भारतको जोगबनीबाट राति करिब साढे १० बजे विराटनगर प्रवेश गरेका पटेललाई सशस्त्रको टोलीले शंका लागेर खानतलासी गर्दा हतियार र लागुऔषध बरामद भएको उनले जानकारी दिए।
सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ। प्रहरीले उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ।