अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन ११ गते।
सुनसरीमा पुनः एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थप भएपनि सार्वजनिक तथा निजी सवारीसाधन यथावत रूपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । उनका अनुसार कुल क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, चालक तथा सहचालकले मास्कसहित पन्जा र भाइजर लगाउने, सवारीसाधनमा स्यानिटाइजर हुनुपर्ने र सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने हुन्छ ।
बजार पसल पनि बिहान आठ बजेबाट बेलुकी आठ बजेसम्म खुल्न दिने तथा राजमार्ग छेछाउका होटल तथा रेस्टुरेन्टहरू पनि बिहान आठ बजेबाट बेलुकी आठ बजेसम्म खुल्न दिने निर्णय भएको प्रजिअ ढकालले जानकारी दिए । तर, भिडभाड हुने पार्टी, डान्स, दोहोरी जस्ता कार्यक्रम र मेला, हाटबजारहरू सञ्चालन गर्न नपाइने तथा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, जिम भने खुल्ला नहुने उनले जानकारी दिए ।