अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ८ गते।
सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई बेवास्ता गरेमा पुनः कडा निषेधाज्ञा हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
कोरोना संक्रमण पछिल्लो समय केही घटे पनि संक्रमणदर भने स्थिर भएको भन्दै स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने क्रम बढेकाले यसले कडा निषेधाज्ञा गर्नुपर्ने अवस्थामा पुर्याउन सक्ने जनाएको हो ।
मंगलबार मन्त्रालयले फेसबुकमार्फत् एक सूचना जारी गरी मापदण्ड बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेकाले यसले कडा निषेधाज्ञाको अवस्थामा पुर्याउने उल्लेख गरेको छ ।
त्यस्तो अवस्था आउन नदिने दायित्व आफ्नै भएकाले मास्क लगाउने‚ भौतिक दूरी कायम गर्ने‚ भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको पालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।