अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, पुस १४ गते।
सर्लाहीको बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय र प्रहरीबीच मंगलबार झडप हुँदा प्रहरीले चलाएको गोली लागेर आन्दोलित स्थानीयवासी पनि घाइते भएका छन् । ईश्वरपुर–५ का १५ वर्षीय बालक सञ्जय महतोलाई खुट्टामा गोली लागेको छ । उनको उपचारका लागि जनकपुरमा पठाइएको छ ।
चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका दिगम्बर महतोलाई घुडामा पलाष्टिकको गोली लागेको छ । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्वमा ईश्वरपुर–४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा वडा नं ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
निषेधाज्ञाको अवधिमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख छ ।