जनकपुरमा सात महिने शिशु चोरीको आरोपमा तीन जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, माघ २७ गते।

सात महिने शिशु चोरीको आरोपमा प्रहरीले जनकपुरमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनैजनालाई बिहिवार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा दुई महिला र एकजना पुरुष रहेका छन् । बच्चा चोरीको कारण भने छोराको मोह देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका वडानम्बर १० का संजित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, औरही गाउँपालिका वडानम्बर १ स्थित पौडेश्वर घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।

जनकपुरधाम–६ स्थित महाराज सागर पोखरी छेउबाट बुधबार साँझ करिव ६ बजे मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् ।

मोहमद आमिर राईनकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको समय रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई बच्चालाई लिएर भागेकी थिइन् ।

पक्राउ परेकाहरुमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *