अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक ७ गते।
टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले हराएको छ।
भारतले पाकिस्तानले दिएको १६० रनको लक्ष्य अन्तिम बलमा ६ विकेट गुमाएर पार गर्यो।
भारतको जितमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरे। उनले सुस्त सुरुवात गरे पनि पछिल्ला ओभरमा रनको वर्षा गरेका थिए। कोहलीले नटआउट ८२ रन जोड्ने क्रममा ५३ बलमा ६ चौका ४ छक्का हिर्काए।
त्यसअघि हार्दिक पाण्ड्याले ४० रन जोडे। दुईबीच पाँचौ विकेटका लागि शतकीय साझेदारी भयो।
खराब सुरुवात गरेको भारतका केएल राहुल र कप्तान रोहित शर्मा ४-४ रनमा आउट भएका थिए। यस्तै सूर्यकुमार यादव १५ रन र अक्षर पटेल २ रनमै आउट भएका थिए।
बलिङमा पाकिस्तानका हरिस रउफ र नवाजले २-२ विकेट लिए।
त्यसअघि मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १५९ रन जोड्यो।
पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक प्रहार गरे। इफ्तिखरले ५१ रन जोड्ने क्रममा ३४ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
यस्तै शान मसूदले नटआउट ५२ रन जोडे। उनले ४२ बलमा ५ चौका हिर्काए।
त्यसअघि ओपनद्वय मोहमद रिजवान र कप्तान बाबर अजाम सस्तैमा आउट भए। रिजवान ४ रन र बाबर शून्यमा आउट भए।
दुवैलाई अर्शदीप सिंहले आउट गरेका थिए। यी दुई ओपनर जोडी ४ रनको साझेदारीमा आउट हुँदै खराब रेकर्ड बनाए। दुई जनाबीच भएको यो सबैभन्दा कम रनको साझेदारी हो।