आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १७ गते।

आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ । त्यसैले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *