अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १ गते।
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आज भारतसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ।
यसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोलसँग चार विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो । नेपालले फिल्डिङमा पनि सुधार गर्नु पर्ने देखिन्छ । भारतले भने आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिटरेट्स (यूएई) को ‘ए’ टोलीलाई हराएको थियो ।
इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा सञ्चालन भइरहेको छ । जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र यूएईको ‘ए’ टोली रहेका छन् ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।
भारतीय टोली भने यश ढुलको कप्तानीमा मैदानमा ओर्लने छ । यूएईविरुद्धको पहिलो खेलमा यशले अविजित एक सय आठ रन बनाएका थिए । उनले ८४ बलमा एक छक्का र २० वटा चौका पनि प्रहार गरेका थिए । उक्त खेलमा भारतका निकिन जोसले अविजित ४१ रनको योगदान गरेका थिए ।
यसका अतिरिक्त साई सुदर्शन, अभिषेक शर्मा, रियान पराग, निशान्त सिन्धु, हर्षित राणा, आकाश सिंह, नितिशकुमार रेड्डी, मानव सुथार, ध्रुव जुरेललगायतका खेलाडी पनि भारतीय टोलीमा छन् ।