अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १० गते।
भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि लागू हुनेगरी थप कडाइ गरेको छ।
अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।
गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।
साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ ।
अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ।
भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ।
भारत र बेलायती सेनामा सरकारको स्वीकृतिमा भर्ना हुने बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने गैरकानुनी र राष्ट्रहित विपरित भएको भन्दै यस्ता काममा जाने व्यक्तिहरूको उद्धार गर्न कठिन हुने भन्दै यसमा संलग्न नहुन अनुरोध गरेको छ।




