तराई–मधेसमा जितिया पर्व आजबाट सुरु

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,असोज १६ गते

तराई–मधेसमा जितिया पर्व आजबाट सुरु भएको छ ।

तराई–मधेसमा मनाइने चाडपर्वमध्ये जितिया एक हो । यो व्रत सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र सुस्वास्थ्य र सन्तानप्रतिको ममतासँग जोडिएको कठोर व्रत हो । यो व्रत परापूर्वकालदेखि तराई मधेसका महिलाले गर्दै आएका छन् । यो व्रत थारू समुदायले पनि उत्तिकै महत्त्वका साथ गर्दै आइरहेका छन् ।

आज पोखरी वा तलाउमा गएर नुहाएर विधिवत् व्रतको प्रक्रिया सुरू गर्ने र शनिबार सप्तमा तिथिको दिन निराधार पानी पनि नखाई व्रत बस्ने छन् ।

यस व्रतको अघिल्लो दिन महिला बिहानै उठेर घर आँगन लिपपोत गरेर चोखो पार्छन् । पिना,तेल,घिरौलाको पात,जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिला समूहमा पोखरी, नदि वा जलाशय गएर र पिनाले नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल चढाउने गर्छन् ।

व्रतको पहिलो दिन अष्टमीको तिथिको दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिन्छन् ।

व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी अनिवार्य रूपमा खाने चलन छ । भोलिपल्ट बिहान ३:०० देखि ४:०० बजे व्रतालुले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा,चिनी, केरा, मिठाइ, पान, सुपारी चढाउने गर्छन् ।

व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले मानको पातले छोपिदिन्छ । व्रतको समय सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्ने गर्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *