बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ३ गते।

सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ ।साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको हो ।आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो । सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिवादीलाई बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ ।सर्वोच्चले पीडक दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र ५ लाख सरकारका तर्फबाट गरी १० लाख क्षतिपूर्ति पीडितलाई भराउने पनि आदेश दिएको छ । जिल्ला अदालत बैतडीले यो मुद्दामा भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।तर पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *