अनलाईन न्युजपाटी,धनकुटा,समाचारदाता, पौष ४ गते।
सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ मुडे शनिश्चरेस्थित सगरमाथा टि स्टेटका म्यानेजर हर्क कुलुङ राई माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । तर, राई कोठाभित्रै लुकेर गोली लाग्नबाट जोगिएका छन् । आफूमाथि असुरक्षा भएको भन्दै उनी अहिले स्थानीय प्रहरी चौकीमा शरण लिएर बसेका छन् ।म्यानेजर राई सुतिरहेको अवस्थामा बुधबार राती १० बजेको समयमा टि स्टेट स्थित उनको क्वाटरको ढोका तोडफोड गरी हात छिराएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । क्वाटरमा सुतिरहेका राईले आफूलाई ताकेर गोली प्रहार गरिए पनि आफू लुकेर जोखिन सफल भएको बताए । गोली भने ढोका माथिको भागमा लागेको थियो ।घटना लगत्तै स्थानीयवासी र प्रहरी पुगेर अध्ययन गर्दा कोठाभित्र गोलीका २ वटा खोका फेला परेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिले कालो कपडाले अनुहार छोपेकाले चिन्न नसकिएको राईले बताए । मुडे शनिश्चेर प्रहरी चौकीका इञ्चार्ज नरेन्द्र चौधरीले घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको बताए ।