अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पौष ९ गते।
रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए ।बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले सो स्थानलाई घेरा हालेका थिए । झोलामा रहेको सो बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले मोबाइल नेटवर्क बन्द गर्न लगाएको थियो । प्रेसरकुकरमा मोबाइल जोडिएको देखिएकोले नेपाली सेनाले निष्क्रिय बनाउने तयारी गरेपछि प्रहरीले टेलिकमलाई मोबाइल नेटवर्क बन्द गर्न लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएपछि मोबाइल सेवा सुचारु भएको छ ।प्रेसर कुकरमा टेप लगाएर तार र मोबाइल समेत जोडिएको बस्तु देखेपछि स्थानीयहरु त्रसित बनेका थिए । करिब दुई घण्टाको प्रयासपछि सो बमलाई निष्क्रिय गरिएको थियो ।