अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पौष २२ गते।
बहुप्रतिक्षित नेपालको एक मात्र रेल जनकपुर–जयनगर–कुर्था खण्डमा आउँदो माघ तेस्रो सातादेखि (फेब्रुअरी पहिलो साता) रेल सञ्चालन हुने भएको छ। नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले दोस्रो पटक संशोधन गरिएको सम्झौता अनुसारको मितिमा बनाएकाले माघ तेस्रोदेखि सञ्चालनको तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले अनलाईन न्युजपाटीलाई जानकारी दिए।
जनवरी ३० सम्म कोकन रेलवेजले रेल हस्तान्तरण गर्नेछ। फेब्रुअरी पहिलो सातादेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने तयारीमा छौं,’ मिश्रले सोमबार अनलाईन न्युजपाटीसँग भने। कोकन रेलवेजले भारतको चेन्नईमा नेपाल आउने रेल बनाइरहेको छ।
विगतमा रेल विभागसँग करिब डेढ सय कर्मचारी कार्यरत भए पनि हाल २० जनामात्र कार्यरत रहेको मिश्रले जानकारी दिए। कैयौं वर्ष रेल सञ्चालन नभएपछि अधिकांश कर्मचारीले अवकाश लिएका थिए। पुनः रेल सञ्चालनका लागि विभागले करिब दुई सय कर्मचारी आवश्यक पर्ने जनाएको छ।रेल सञ्चालनका लागि विभागले दुई सय कर्मचारीको दरबन्दी स्वीकृत गर्न अर्थमा फाइल पेस गरेको जनाएको छ।
उनका अनुसार जनकपुर–जयनगर–कुर्था खण्डमा चल्ने रेल भारतमा तयार भइसकेको छ।
विभागले वैशाखमा करिब एक हजार दुई सयजनाले (पाँच सय बसेर र बाँकी उभिएर) यात्रा गर्न मिल्ने डेमो रेल तयार गर्ने कोकन रेलवेजसँग सम्झौता गरेको थियो। सुरुको सम्झौता भदौसम्म उक्त रेल ल्याउने थियो। त्यतिखेर रेल तयार नभएपछि सम्झौतालाई जनवरी ३० सम्म लम्ब्याइएको थियो।
नेपालमा रेल चलाउने प्रयास लामो समयदेखि भइरहेको छ। जयनगर–कुर्था (४४ किमी) खण्डमा चल्ने रेल निर्माण गर्न भारतीय कम्पनीले सन् २०१८ को अप्रिलमा नै मूल्यसहित नेपाललाई प्रस्ताव गरेको थियो। त्यतिबेला पनि अनेक कारणले रेल खरिदमा ढिलाइ गरिएको थियो।
विगतमा सञ्चालन हुँदै आएको जनकपुर–जयनगर खण्डलाई कुर्थासम्म बढाई मर्मतसम्भार गरेपछि रेल चलाउन लागिएको हो। सोही खण्डमा चल्दै आएको एकमात्र रेल निकै जीर्ण भएका कारणसात वर्षदेखि बन्द छ। जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ।